शुक्रबार, मंसिर ६, २०७६
www.samsararemit.com

नेकपाका सांसद् पार्वत गुरूङलाई पक्राउ पुर्जी जारी

नेकपाका सांसद पार्वत गुरूङलाई पक्राउ पुर्जी जारी भएको छ । काठमाडौं जिल्ला अदालतले काटेको पुर्जी जिल्ला प्रहरी कार्यालय दोलखाले तामेली गरेको र गाउँपालिका अध्यक्षलाई बुझ्न लगाएको सांसद पार्वत गुरुङले जानकारी दिए ।

स्थानीय निकाय निर्वाचनलगत्तै दोलखाका वीरध्वज खड्कामाथि काठमाडौैंमा आक्रमण भएको र सोही घटनामा राजनीतिक प्रतिशोधका आधारमा आफूविरुद्ध पक्राउ पुर्जी जारी भएको उनको भनाइ छ । “अब म अदालतमा हाजिर भएर सत्यतथ्य बताउँछु । त्यो राजनीतिक मुद्दा हो । राजनीतिक व्यक्तिमाथि यस्ता प्रतिशोधका घटना भइरहन्छन्,” उनले भने ।

उनले पूर्वमाओवादी केन्द्रका कार्यकर्ताले राजनीतिक प्रतिशोधका आधारमा मुद्दा दर्ता गराएको र त्यही मुद्दाका आधारमा पक्राउ पुर्जी जारी भएको जिकिर गरे ।

के हो जुँगु घटना ?
दोलखाको गौरीशंकर गाउँपालिका–१ जुँगुमा स्थानीय तहको निर्वाचनअघि वैशाख २६ गते तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच विवाद भएको थियो । सो क्रममा दुई पार्टीका कार्यकर्ताबीच कुटाकुट हुँदा एमाले समर्थक कुलबहादुर तामाङ्को मृत्यु भएको थियो ।

त्यसलगत्तै तामाङ परिवारको उजुरीपछि प्रहरीले एन्ड्रिज कार्की, सुरेश कार्की, प्रेम तामाङ, गोपाल तामाङ, नीलम जिरेल, प्रेमबहादुर तामाङलगायतलाई पक्राउ गरेको थियो । तर, पछि उनीहरु जिल्ला अदालत दोलखाको आदेशमा साधारण तारेखमा छुटेका थिए ।
तामाङको मृत्यु हुनेगरि भएको सो घटनामा वीरध्वज खड्कासहित तत्कालीन माओवादी केन्द्रका नेताहरु देवी खड्का,विशाल खड्का,गंगा कार्कीसहित ३९ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय चरिकोटमा तामाङ परिवारले किटानी जाहेरी दिएका थिए ।

 

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया