बुधबार, कार्तिक २७, २०७६
www.samsararemit.com

सीमाबारे मोदीसँग सीधा कुरा गर्न प्रधानमन्त्री ओलीलाई सुझाव

सीमा विवाद राजनीतिक तहबाटै समाधान गर्न नेताहरुले प्रधानमन्त्री केपी ओलीलाई सुझाव दिएका छन् । भारतको नयाँ नक्सामा नेपालको कालापानी, लिपुलेक, लिम्पियाधुरालगायत भूभाग समेटिएको विषयमा छलफल गर्न प्रधानमन्त्री ओलीले बोलाएको सबैदलीय बैठकमा सहभागी भएका नेताले यस्तो सुझाव दिएका हुन् ।

पूर्वप्रधानमन्त्री एवम् समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले परराष्ट्र सचिवको बैठकको अर्थ नभएको भन्दै प्रधानमन्त्रीलाई सिधै भारतीय समकक्षी नरेन्द्र मोदीसँग कुरा गर्न सुझाव दिए ।

‘परराष्ट्रसचिवको बैठकको अर्थ छैन’, बैठकमा भट्टराईले भने, ‘भारतीय प्रधानमन्त्रीलाई नै सम्पर्क गरेर राजनैतिक आयोग बनाएर समाधान गर्नुपर्छ । सीमा विवादको समाधान राजनीतिक तहबाटै गर्नुपर्छ ।’

बाबुरामले राष्ट्रियताको सवालमा सबै दल एकमत हुनुपर्नेमा समेत जोड दिए । उनले सुरुका नक्सा, २०१५ सालको चुनाव र २०१८ सालको जनगणनालाई आधार बनाएर समाधान खोज्नुपर्नेमा पनि जोड दिए ।

‘व्यवस्था फरक हुँदा मान्छेका धारणा पनि फरक हुन्थे। अहिले सबैभन्दा दल एकै ठाउँमा हुनुपर्छ’, उनले भने, ‘राष्ट्रियताका सवालमा सबैको एक मत हुुुनुपर्छ । हाम्रा पक्षबाट प्रमाण बलियो बनाउनुपर्छ। सुरुका नक्सा, २०१५ सालको चुनाव । २०१८ सालको जनगणना । ईपीजीबाटै निकास दिनुपर्छ ।’

त्यसैगरी सीमा विवादको विषयमा भारतीय राजदूतको धारणा बुझ्नुपर्ने सुझाव राप्रपा (संयुक्त) का अध्यक्ष प्रकाशचन्द्र लोहनीले दिए । ‘सीमा विवाद लिम्पियाधुरा, लिपुलेक नेपालको भन्नेमा विवाद छैन’, उनले भने, ‘यसमा भारतीय राजदूतको धारणा बुझ्नुपर्छ ।’

 

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया