आईतबार, मंसिर २२, २०७६
www.samsararemit.com

राष्ट्रिय कीर्तिमानी खत्रीः ‘साग’ छोडेर किन गइन् कतार ?

चार सय मिटर दौडमा राष्ट्रिय कीर्तिमान बनाएकी धाविका तुलसा खत्री १३ औं दक्षिण एसियाली खेलकुद (साग) छाडेर विदेशिएकी छिन् ।घरेलु मैदानमा आयोजना हुने १३ औं सागको उद्घाटन हुनु ३ दिनअघि बिहीबार प्रशिक्षकलाई झुक्याएर नेपाली सेनाकी धाविका खत्री कतार गएकी हुन् ।

एथ्लेटिक्सका प्रमुख प्रशिक्षक चन्द्रबहादुर गुरुङलाई बुधबार बेलुका सन्देश पठाएर भोलि ढिला आउने उनले बताएकी थिइन् । तर खत्री बिहीबार दिउँसोसम्म पनि सम्पर्कमा नआएपछि प्रशिक्षक गुरुङले सोधपुछ थालेका थिए ।

त्यसपछि उनी कतार गएको बुझिएको थियो । बिहीबार राष्ट्रिय खेलकुद परिषद्लाई मौखिक जानकारी दिएका प्रशिक्षक गुरुङले शुक्रबार लिखित रुपमा नै पत्राचार गरेका छन् ।

उनका अनुसार खत्रीले आर्मी विभागलाई भने सन्देश पठाएकी थिइन् । उनले ‘खेल खेल्न चाहदा चाहदै पनि करियर बनाउनका लागि मैले झुट बोलेँ’ भनेर आर्मीलाई सन्देश पठाएको गुरुङले बताए ।

खत्रीले सागमा चार सय मिटर दौड, हडल्स र रिलेमा भाग लिने तय थियो ।  अब उनको सट्टामा अरुणा रिजालले खेल्ने सम्भावना छ ।

यसअघि खत्रीले गत महिना चीनको उहानमा भएको सातौं विश्व सैनिक गृष्मकालीन खेलकुद प्रतियोगितामा महिला चार सय मिटर दौडमा राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् । उनले ९ वर्ष पुरानो कीर्तिमान तोडेकी थिइन् ।

उनले ५९.५७ सकेण्डमा निर्धारित पार गर्दै प्रमिला रिजालको नाममा रहेको कीर्तिमान भंग गरेकी थिइन् । प्रमिलाले सन् २०१० मा ५९.९० सेकेण्डमा दौडिदै रेकर्ड राखेकी थिइन्।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया