शनिबार, फाल्गुन १७, २०७६
www.samsararemit.com

सागमा स्वर्ण विजेतालाई ९ लाख दिने प्रधानमन्त्रीको घोषणाः गौरिकाले ६५ लाख पाउने

प्रधानमन्त्री केपी शर्मा ओलीले १३ औँ सागमा पदक विजेता खेलाडी, प्रशिक्षकहरुलाई नगद पुरस्कारको घोषणा गरेका छन् । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको कार्यक्रममा प्रोत्साहनस्वरुप प्रधानमन्त्रीले स्वर्ण, रजत र कास्य पदक विजेता र प्रशिक्षकलाई नगद पुरस्कार राशिको घोषणा गरेका हुन् ।

प्रधानमन्त्री सचिवालयका अनुसार एक स्वर्ण विजेतालाई ९ लाख रुपैयाँ नगद दिइने प्रधानमन्त्रीले घोषणा गरेका छन् भने एकभन्दा बढी स्वर्ण विजेतालाई एघार लाख रुपैयाँका दरले नगद पुरस्कार दिइनेछ ।

जसमा दुईवटा स्वर्ण विजेताले २२ लाख रुपैयाँ प्राप्त गर्नेछन् । प्रधानमन्त्री ओलीले घोषणा गरेको पुरस्कार राशिअनुसार पौडीमा चार स्वर्ण जित्ने गौरिका सिँहले स्वर्णतर्फबाट ४४ लाख प्राप्त गर्नेछिन् । त्यसैगरी उनले दुईवटा रजत पदक पनि जितेकी छन् । दुईवटा रजतमा थप १२ लाख रुपैयाँ प्राप्त गर्नेछिन् । उनले स्वर्ण र रजत गरि कम्तिमा ५६ लाख रुपैयाँ नगद पाउनेछिन् ।

त्यसैगरी कास्य विजेताले जनही तीन लाख प्राप्त गर्नेछन् । गौरिकाले समूहमा तीन कास्य पदक जितेकाले त्यसमा कति रकम प्राप्त गर्नेछिन् भन्ने एकिन नभएको भए पनि त्यसमा समेत ९ लाख गरेर गौरिकाले ६५ लाख रुपैयाँ पाउने छिन् ।

त्यसैगरी तेक्वान्दोकी आयशा शाक्यले दुईवटा स्वर्णपदक जितेकी छन् । उनले २२ लाख रुपैयाँ प्राप्त गर्नेछिन् भने करातेका मण्डेकाजी श्रेष्ठले पनि दुईवटा स्वर्ण जितेकाले २२ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

त्यसैगरी पदक विजेताका प्रशिक्षकलाई पनि जनही पाँचलाख रुपैयाँ दिइने छ । त्यसैगरी फुटबलको स्वर्ण विजेता प्रत्येक खेलाडीहरुलाई जनही पाँचलाख रुपैयाँ दिइने छ । नेपालले १३ औँ सागमा हालसम्मकै सर्वाधिक पदक जितेको छ ।
१३ औँ सागमा नेपाल पदक तालिकामा दोस्रो स्थानमा रहेको छ । नेपालले ५१ स्वर्ण, ६० रजत तथा ९५ कास्यसहित कूल २०५ पदक जितेको छ ।

सागमा समावेश २६ खेलमध्ये नेपालले २५ खेलमा पदक जितेको छ । नेपाल सुटिङमा भने पदकविहीन रहेको थियो । यस्तै करातेका मण्डेकाजी श्रेष्ठ र आयशा शाक्यले एउटै संस्करणमा दुई स्वर्ण कीर्तिमान बनाए ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया