सोमबार, माघ ६, २०७६
www.samsararemit.com

वामदेवले राष्ट्रियसभामा जान किन अस्वीकार गरे ? यस्तो छ नालिवेली

सातै प्रदेशबाट १६ उम्मेदवारको नाम टुंगो लगाउँदा राष्ट्रिय राजनीतिका चर्चित नाम नारायणकाजी श्रेष्ठ र बेदुराम भुसालमात्र परेका छन् । श्रेष्ठ नेकपा प्रवक्तासमेत हुन् । श्रेष्ठ गत आम निर्वाचनमा गोरखा क्षेत्र नम्बर-२ मा बाबुराम भट्टराईसँग पराजित भएका थिए ।

बिहीबारको सचिवालय बैठकमा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालले आग्रह गर्दा पनि वामदेव गौतमले भने राष्ट्रियसभामा जान अस्वीकार गरेका छन् । बिहीबारको बैठकमा गौतमले राष्ट्रियसभामा जान अस्वीकार गरेपछि शुक्रबारको सचिवालय बैठकले राष्ट्रियसभा सदस्यको नाम टुंगो लगाएको हो ।

गौतमले आफूलाई राष्ट्रियसभामा लाने भए संविधान संशोधन गर्न शीर्ष नेतृत्वलाई चुनौती दिए । उनले संविधान संशोधन गरेर राष्ट्रियसभा सदस्यसमेत प्रधानमन्त्री बन्ने व्यवस्था गरेपछि मात्र त्यहाँ जाने अडान दोहोर्याएपछि अध्यक्षद्वयले गौतम बिनाका अन्य नेताको नाममा सहमति गरेका हुन् ।

‘राष्ट्रियसभामा म त्यसबेला जान्छु । जब नेपालको संविधान संशोधन गरेर राष्ट्रियसभाका सदस्य पनि प्रधानमन्त्री हुन पाउँछन्’, गौतमले भने, ‘म प्रधानमन्त्री हुनुपर्छ । नत्र म त्यस्तो संस्थामा सदस्य हुन्न । म जहाँ रहेपछि कार्यकारीसहितको शक्तिशाली संस्थामा रहन चाहन्छु ।’
गौतमको अडान प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यबीच समानता हुनुपर्ने हो । ‘यो असमानता हटाउनुपर्छ । म शक्तिशाली संस्थामा रहन चाहन्छु । मेरो स्वभाव पनि त्यस्तै खालको छ’, गौतमले थप भने, ‘म प्रधानमन्त्री बन्नुपर्छ भन्ने कुरा त गएकै निर्वाचमना भनिएको हो । २०७० को निर्वाचनमा प्यूठान र बर्दियामा भावी प्रधानमन्त्री भनेर लगिएको हो ।’

गौतमले सांसद र मन्त्री हुन राष्ट्रियसभामा जानु भन्दा बाहिर बसेरै पार्टी संगठनको काम गर्ने बताएका छन् । आफ्नै अडानका कारण राष्ट्रियसभामा नगएका गौतमले पार्टीमा भने महत्वपूर्ण जिम्मेवारी पाउँदैछन् । आगामी पुस २३ गते बस्ने नेकपा केन्द्रीय समिति बैठकले गौतमलाई विधान संशोधन गरेर उपाध्यक्ष बनाउँदै छ । यसअघि नै सचिवालय बैठकले गौतमलाई उपाध्यक्ष बनाउने प्रस्ताव गरेको थियो । केन्द्रीय समितिले प्रस्ताव पारित गरेपछि गौतम उपाध्यक्ष हुनेछन् ।

नेकपा सचिवालयका ९ सदस्यमध्ये प्रवक्ता श्रेष्ठसमेत राष्ट्रियसभामा जाने निश्चित भएसँगै संघीय संसदमा सहभागी नहुने वामदेव एक्लो सदस्य बन्ने छन् । गृहमन्त्रीसमेत रहेका रामबहादुर थापा बादल राष्ट्रियसभा सदस्य हुन् भने अन्य सबै सचिवालय सदस्य प्रतिनिधिसभा सदस्य छन् । नेकपा सचिवालयले चयन गरेका १६ उम्मेदवारमध्ये ९ पूर्वएमालेका छन् भने ७ पूर्वमाओवादी हुन् ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया