सोमबार, चैत्र २४, २०७६
www.samsararemit.com

अब नीतिगत सुधार गर्न लाग्छुः अध्यक्ष पाण्डे

नेपाल शैक्षिक परामर्श व्यवसायी संघ (इक्यान) नवनिर्वाचित अध्यक्ष प्रकाश पाण्डेले वर्तमान समयमा शैक्षिक परामर्श दातृ संस्था सञ्चालनका लागि नीतिगत रुपमा अझै राज्य स्पष्ट नभइसकेकाले नीतिगत सुधारका लागि आफ्नो पहिलो दायित्व रहेको बताएका छन् । सरकारको अस्पष्ट नीतिले गर्दा शिक्षामन्त्रालयमा १४७३ वटा शैक्षिक परामर्श दातृ संस्थाले अनुमति पाएको तर अझै ७ सयभन्दा बढी संस्थाहरु अनुमतिको पर्खाइमा रहेको उनको भनाइ छ ।

सरकारले नीतिगतरुपमा दर्ता र नविकरणको बाटो बन्द गरेको भन्दै उनले उक्त समस्या समाधान गर्ने अग्रसरता देखाएका हुन् । ‘सरकारले गत वर्षको भदौ १ गतेदेखि शैक्षिक परामर्श दार्त संस्थाको दर्ता प्रक्रिया रोकेको छ । जसले गर्दा अनुमतिका लागि प्रक्रिया अगाडि बढाएका संस्थाले अनुमति पाएका छैनन  । त्यसैले यस विषयमा राज्यसँग पहल गरी शैक्षिक परामर्श दातृ संस्थामैत्री नीति ल्याउनु जरुरी रहेको उनको भनाइ छ ।

‘हामी आफै पनि नियमनका लागि विगतका दिनमा निर्देशिका बनाउने काममा सहयोग गर्र्यौै तर आज सरकारले अनावश्यक रुपमा बाटो बन्द गरी समग्र व्यवसायलाई अप्ठ्यारोमा पारेको छ,’ अध्यक्ष पाण्डेले भने । दोस्रो पटक अध्यक्षमा निर्वाचित भएका पाण्डेले अबको बाटो राज्यसँग नीतिगत सुधारका कार्यक्रमलाई अगाडि बढाउँदै यस क्षेत्रमा अभिभावकीय जिम्मेवारी बोकेको इक्यानलाई डिप्लोम्याटिक मिसनसँग पनि सम्बन्ध सुधार गर्दैै अगाडि बढ्नु पर्ने आवश्यक रहेको बताएका छन् ।

सरकारले उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीहरुसँग २ प्रतिशत कर लिने तर विद्यार्थीलाई विदेशमा गाह्रो अप्ठ्यारो हुँदा सरकारले भूमिका बिर्सने गरेको भन्दै विद्यार्थीले तिरेको रकमबाट कोष स्थापना गर्नुपर्ने आवश्यकता औलाउँदै त्यसतर्फ अग्रसर हुन सरकारलाई आग्रह समेत उनले गरेका छन् । ‘मुलुक संघीय संरचनामा गइसकेको छ, जसमा शैक्षिक परामर्श दातृ संस्थाहरु कुन तह अन्तर्गत रहने भन्ने स्पष्ट नीति आइसकेको छैन, जसले यस क्षेत्रमा अन्योलता सिर्जना गरेको छ, साथै शैक्षिक परामर्श क्षेत्रलाई राज्यले हेर्ने दृष्टिकोणलाई सकारात्मक बनाउँदै अगाडि बढाउँदै समग्र क्षेत्रको विकासमा लाग्नुको विकल्प छैन,’ उहाँले भने ।

विगतका दिनदेखि नै इक्यानले यस व्यवसायलाई अगाडि बढाउन, कानूनी दायरामा ल्याउन र स्वस्थ प्रतिष्पर्धामा व्यवसाय सञ्चालन गराउनका लागि अग्रणी भूमिका खेलेको सबैलाई विधितै भएको बताउँदै अध्यक्ष पाण्डेले शिक्षा नीति व्यवसायीका लागि मात्रै नभइ, विद्यार्थी र अभिभावकको पक्षमा समेत बनाउनु पर्नेमा जोडदिए । अध्यक्ष पाण्डेले आफ्नो कार्यकालमा समग्र शैक्षिक परामर्श क्षेत्रलाई व्यवस्थित बनाउँदै, स्वस्थ प्रतिष्पर्धाको वातावरण बनाउँदै नीतिगत सुधारलाई प्राथमिकतामा राख्ने बताए ।

इक्यानको गत पुस २६ गते राजधानीमा सम्पन्न १४ औं वार्षिक साधारणभाबाट  प्रकाश पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो ।  अध्यक्ष प्रकाश पाण्डेको नयाँ कार्यसमितिमा प्रथम उपाध्यक्षमा देविदास भट्टराई, द्वितिय उपाध्यक्षमा शेषराज भट्टराई र तृतिय उपाध्यक्षमा कृष्णहरि केसी चयन हुनु भएका छन् । साथै महासचिवमा दीपकराज भुसाल चयन हुनु भएको छ । त्यस्तै, प्रथम सचिवमा बासुदेव दाहाल र द्वितिय सचिवमा बीके ढुंगाना चयन भएका छन् भने कोषाध्यक्षमा प्रकाश श्रेष्ठ र सह कोषाध्यक्षमा कर्ण गुरुङ सर्वसम्मत् चयन भएका छन् ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया