मंगलबार, जेष्ठ १३, २०७७
www.samsararemit.com

लकडाउन एक साता लम्बियोः गरिब तथा विपन्न परिवारलाई आर्थिक प्याकेज ल्याउने तयारी

सरकारले थप एक साता लकडाउन लम्ब्याउने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले कोरोना भाइरसको संक्रमण फैलन नदिन लकडाउन थप एक साता लम्ब्याउने निर्णय गरेको हो ।

उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा रहेको कोरोना भाइरस रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले बन्दाबन्दी (लकडाउन) एक साता लम्ब्याउन मन्त्रिपरिषद् बैठकमा प्रस्ताव पेश गरेको थियो ।

यस्तै मन्त्रिपरिषद् बैठकले समितिले नै प्रस्ताव गरेको अनुसार अप्रिल १५ सम्म हवाई उडान रोक्ने निर्णय पनि अनुमोदन गरेको छ । यसैगरी नेपाल-भारत सीमा क्षेत्रमा रहेका नेपालीलाई एक पटकका लागि नेपाल प्रवेश गर्न समेत दिने निर्णय गरेको छ । तर उनीहरु अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने छ ।

‘आवश्यकता अनुसार लकडाउन एक साता लम्ब्याउने निर्णय भएको छ । गरिब तथा विपन्न परिवार व्यावसायीका लागि आर्थिक प्याकेज ल्याउने भनिएको छ । यस्तै बन्दाबन्दी उल्लंघन भइरहेको अवस्थामा थप कडाई गराउने उच्च स्तरीय समितिमा छलफल भएको छ,’ समिति सचिवालयका एक सदस्यले बताएका थिए ।

सरकारले गत मंगलबारबाट एक साताका लागि लकडाउन गर्ने निर्णय गरेको थियो । हालसम्म नेपालमा ५ जना कोरोना भाइरस संक्रमित भएको पुष्टि भइसकेको छ । उनीहरु पाँचै जना विभिन्न मितिमा विदेशबाट नेपाल आएका हुन् । नेपालमा कोरोना भाइरस संक्रमित पुष्टि भएको दोस्रो र पाँचौं नमूना भएका व्यक्तिहरू चैत ६ मा एउटै विमानबाट कतार हुँदै नेपाल फर्किएका व्यक्ति भएको पाइएको छ ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया