मंगलबार, जेष्ठ १३, २०७७
www.samsararemit.com

पूर्वमन्त्री बस्नेत र आईजी खनाल सांसद अपहरणमा सम्लग्नः प्रहरीले किटानी जाहेरी दर्ता गरेन

 

समाजवादी पार्टीका नेता डा. सुरेन्द्र यादवलाई अपहरण गर्नेविरुद्ध दुईजना सांसद र पूर्वप्रहरी महानिरीक्षकविरुद्ध दिइएको जाहेरी काठमाडौं प्रहरी परिसरले दर्ता नगरी फर्काइदिएको छ ।

लकडाउनका बेला महोत्तरी पुगेर नेकपाका सांसदद्वय महेश बस्नेत र किसन श्रेष्ठ तथा पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले डा. यादवलाई जबर्जस्ती काठमाडौं ल्याएर पार्टी फुटाउन दबाब दिएको भन्दै समाजवादी पार्टीका दर्जनौं नेता जाहेरी लिएर प्रहरी परिसर टेकु पुगे पनि प्रहरीले जाहेरी लिन मानेन ।

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवसहित पूर्वमन्त्री, ६ जना बहालवाला सांसद र दर्जनौं पत्रकारसहित जाहेरीका लागि पुगे पनि जाहेरी लिन प्रहरीले इन्कार गरेको थियो ।

डा. भट्टराईले प्रहरीले जाहेरी लिन नमानेपछि भने, “८ जना पूर्वप्रम–उपप्रम–मन्त्री तथा ६ जना बहालवाला सांसद र दर्जनौं पत्रकारसहित देशको राजधानीमै अपहरण जस्तो सरकारवादी मुद्दाको जाहेरी दिन जाँदा प्रहरीले ठाडै म लिन्न जानेको गर भन्न सक्छ भने दूरदराजका गाउँका निर्धानिमुखा जनताले कस्तो न्याय पाउलान् ? मुद्दा ठीक बेठीक त पछि छुट्टिन्छ नि !”

काठमाडौं प्रहरी परिसरका प्रमुख श्याम ज्ञवालीले घटनाको सुरुवात महोत्तरीबाट भएको भन्दै त्यहीँ जाहेरी दिन भन्दै परिसर पुगेका नेताहरुलाई फर्काइदिएका थिए । ज्ञवाली प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीकै सहोदर भाइ हुन् ।

जाहेरी दिनका लागि समाजवादी पार्टीका नेता भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतोलगायतका नेताहरु प्रहरी परिसर टेकु पुगेका थिए ।

नेता भट्टराईले भने, “अहिलेको घटना बहालवाला सांसद जो प्रधानमन्त्री निकट छन् र पूर्वप्रहरी महानिरीक्षकको संलग्नतामा घटेको हो । यसको छानबिन र अनुसन्धान गर्न हामीले जाहेरी दिन लागेका थियौं । यो सरकारवादी मुद्दा पर्छ । यो राज्य आफैंले मुद्दा अघि बढाउन सक्थ्यो ।”
उनले ओलीतन्त्रमा कसैले पनि न्याय नपाउने बताए ।

“सरकारले विधान संविधान सबै लत्याएको छ । राज्यको अपराधिकरण गरेको छ । विभिन्न काण्डमा मुछिएको छ । बुझ्दाबुझ्दै पनि कानुनको पालना गर्न सकेको छैन, घटना झनै गम्भीर बनेको छ,” उनले भने ।

अपहरणमा परेका सांसद डा. यादवले भने अनुसन्धानबाट आफूलाई गलत प्रमाणित गर्न चुनौती दिए ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया