मंगलबार, जेष्ठ १३, २०७७
www.samsararemit.com

नेकपामा विवाद जिउकोतिउः स्थायी कमिटीको बैठक स्थगित

बिहीबार बस्ने भनिएको सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठक स्थगित भएको छ ।  एजेन्डाका विषयमा नेताहरूबीच कुरा नमिलेपछि बैठक स्थगित भएको हो ।

स्थायी कमिटी बैठकमा प्रस्ताव गरिने एजेन्डा तय गर्न बसेको  सचिवालय बैठकमा सुरुमै प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना कुरा राखिसकेपछि उठेर हिँडेकाले बैठक स्थायी कमिटी बैठकबारे अनिर्णित भएको हो । स्थायी कमिटीमा प्रस्ताव गरिने एजेन्डा र बैठक मिति तय गर्ने जिम्मा अध्यक्षद्वयलाई दिँदै सचिवालय बैठक समापन भयो । अध्यक्ष तथा प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल बीच पनि सहमति नभएपछि बैठक स्थगित भएको हो।

नेकपामा ‘एक व्यक्ति, एक पद’को एजेन्डालाई लिएर पार्टीभित्र नेताहरुवीच विवाद बढेको छ । पार्टीको विधानबमोजिम सचिवालयबाट स्थायी कमिटी बैठकमा पेस गर्ने त्यस एजेन्डालाई लिएर शीर्ष नेताहरुबीच विवाद उत्कर्षमा पुगेको हो ।

प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल बीच भएको सहमतिमध्ये ‘एक व्यक्ति, एक पद’ कार्यान्वयन हुने नदेखिएपछि पार्टीमा विवाद बढेको एक सचिवालय सदस्यले बताए ।

‘पार्टी फट्ने स्थिति भएपछि ओली दाहालबीच एक व्यक्ति एक पद र मुख्यमन्त्रीदेखि संघीय मन्त्रीको हेरफेर गर्ने समझदारी भएको थियो,’ एक सचिवालय सदस्यले भने, ‘आफूसँग भएको सहमति दाहालजीले माधव कमरेड र झलनाथ कमरेडलाई भन्नु भएको थियो । त्यो सहमतीमा हामीले पनि समझदारी गरेका थियौं । तर, प्रधानमन्त्री ओली आफ्नो सहमतीबाट पछि हटेरपछि पार्टीको विवाद फेरि पहिलेकै अवस्थामा आएको छ ।’

 

 

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया