शनिबार, असार २७, २०७७
www.samsararemit.com

जेठ ३२ गतेसम्म लकडाउन गर्ने सरकारको निर्णय

मन्त्रिपरिषद् बैठकले लकडाउन जेठ ३२ गतेसम्म गर्ने निर्णय गरेको छ । शनिबार बसेको मन्त्रिपरिषद् बैठकले जेठ ३२ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको हो । यस्तै सरकारले असार १६ गतेसम्म सबै उडान बन्द गर्ने निर्णय गरेको छ ।

‘अन्तर्राष्ट्रिय सीमा नाका जेठ १८ गतेसम्म बन्द गर्ने भएको निर्णयलाई २०७७ साल असार १६ गते अर्थात् जुन ३० सम्म सीमा क्षेत्रको आवागमन स्थगित गर्ने निर्णय भएको छ’, सरकारका प्रवक्तासमेत रहेका मन्त्री युवराज खतिवडाले जानकारी दिए ।

सरकारले सीमाको आवागमनलाई विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार चेकजाँच गर्ने सम्बन्धमा दुई देशबीच कुराकानी गर्ने निर्णय गरेको जानकारी खतिवडाले दिए ।

प्रवक्ता खतिवडाका अनुसार लकडाउनको मोडालिटी परिवर्तन गर्ने विषयमा निर्णय गर्न कोरोना रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिलाई सरकारले जिम्मा दिएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोक्न सरकारले २०७६ साल चैत ११ गतेदेखि लकडाउन गर्दै आएको छ ।

सरकारले पहिलोपटक चैत ११ देखि १८ गतेसम्म लकडाउन गरेको थियो । त्यसपछि फेरि दोस्रोपटक एक हप्ता थपेर २५ चैतसम्मका लागि लम्ब्याइएको थियो । त्यसलाई निरन्तरता दिँदै वैशाख ३, त्यसपछि १२ दिन लकडाउनको अवधि थपेर वैशाख १५ र १० दिन थप गर्दै वैशाख २५ र पछिल्लो पटक जेठ ५ गतेसम्म लकडाउनको अवधि थप गरेको थियो ।

त्यसपछि सरकारले एकै पटक १५ दिन लकडाउन थपेर जेठ २० गतेसम्म लम्बाएको थियो । कोरोना संक्रमणको जोखिम बढ्दो रहेको निष्कर्ष निकाल्दै लकडाउनलाई लम्ब्याउन उच्च स्तरीय समितिले सिफारिस गरे अनुसार सरकारले जेठ ३२ गतेसम्म लकडाउनको समय थप गरेको हो ।

 

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया