शनिबार, असार २७, २०७७
www.samsararemit.com

७ वर्षपछि अंगीकृत नागरिकता पाउँने प्रस्ताव बहुमतले पारित

राज्य ब्यवस्था तथा सुशासन समितिको बैठकले विदेशी बुहारीलाई ७ बर्षपछि मात्रै अंगीकृत नागरिकता दिने प्रस्ताव बहुमतले पारित गरेको छ । आइतबार समितिको हलमा बसेको बैठकले बैवाहिक अंगीकृत नागरिकता ७ वर्षपछि मात्रै दिने विषयमा सर्वसहमति नभएपछि बहुमतबाट पारित भएको छ ।

पारित भएको नागरिकता सम्बन्धी विधेयक अब प्रतिनिधि सभाको पूर्ण बैठकमा पेश हुनेछ ।  बैठकमा सो विधेयकमाथि नेपाली काँग्रेस र जनता समाजवादी पार्टीले फरक मत दर्ता गरेका छन् । उनीहरुले पहिलेदेखि नै नागरिकता सम्बन्धी ऐन २०६३ अनुसार नै वैवाहिक अंगिकृत नागरिकता दिनुपर्ने बताउँदै आएका थिए ।

विदेशी नागरिकता त्यागेपछि नेपालमा तुरुन्तै नागरिकता दिने विषयमा नेकपाका सांसदहरुले भने विरोध गर्दै आएका थिए । नेकपाको शनिवार बसेको सचिवालय बैठकले बैवाहिक अंगीकृत नागरिकता ७ वर्षपछि मात्रै दिने विषयमा निर्णय गरेको थियो ।

विपक्षी दलहरुले नागरिकता ऐन २०६३ अनुसार विवाहगरे लगत्तै अंगीकृत नागरिकता दिने प्रावधान राख्नुपर्ने अडान राखेका थिए । विधेयकमा नेपाली काँग्रेसका तर्फबाट सांसदहरु दिलेन्द्र प्रसाद बडू, देवेन्द्रराज कँडेल, डा. डिला संग्रौला पन्त, डा. अमरेश कुमार सिंह, मिना पाण्डे र विनोद चौधरीले फरक मत राखेका छन् ।

यस्तै नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल र सांसद वृजेशकुमार गुप्ताले पनि फरक मत राखेका छन् । विधेयक समितिबाट पारित भएसँगै अब नेपाली पुरुषसँग विवाह गर्ने महिलाले नेपालमा स्थायी बसोबास गरेको ७ वर्षपछि मात्रै नेपाली नागरिकता प्राप्त गर्नेछन् ।

अब नेपालमा स्थायी बसोबास गरेको सात वर्षपछि अंगीकृत नागरिकता लिन वडा कार्यालयको सिफारिस विदेशी नागरिकता वा अन्य कुनै राष्ट्रियता जनाउने प्रमाणपत्र लिएको भए परित्यागको प्रकृया चलाएको प्रमाणपत्र पेश गर्नुपर्ने छ ।

 

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया