सोमबार, श्रावण २६, २०७७
www.samsararemit.com

वामदेवलाई भेट्न प्रधानमन्त्री ओली पत्नी राधिका सहित भैंसेपाटी

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष एवम प्रधानमन्त्री केपी ओली पार्टी उपाध्यक्ष वामदेव गौतमलाई भेट्न भैसेपाटी पुगेका छन् । मंगलबार साँझ प्रधानमन्त्री ओली पत्नी राधिका शाक्यसहित गौतम निवास भैंसेपाटी पुगेका हुन् ।

भैंसेपाटीमा ओली र नेता गाैतमबीच समसामयिक राजनीतिक विषयमा कुराकानी भएको स्रोतको जनाएको छ । वामदेव सचिवालयले पारिवारिक भेटघाट भएको बताए पनि पार्टी भित्रको विवादको विषयमा छलफलका लागि ओली भैंसेपाटी पुगेको हुँन ।

प्रधानमन्त्री ओली पार्टी महासचिव विष्णु पौडेललाई समेत लिएर भैंसेपाटी पुगेका हुन् । पार्टी भित्र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शक्ति संघर्ष चल्दै गर्दा प्रधानमन्त्री स्वयम् उपाध्यक्ष गौतम निवास पुग्नुलाई महत्वका साथ हेरिएको छ ।

असार १० गतेदेखि सुरु भएको नेकपा स्थायी कमिटी बैठकमा चर्काचर्की चलिरहेका बेला गौतम निवासको भेटलाई महत्वका साथ हेरिएको हो । मंगलबार बिहान मात्र नेता गौतमले दुवै अध्यक्षको शक्ति सन्तुलनका लागि ६ बुँदे प्रस्ताव अघि सारेका थिए । उनको प्रस्तावपछि प्रधानमन्त्री निवासमै पुगेको नेताहरुको भनाइ छ ।

उपाध्यक्ष गौतम निकट नेताहरुले भने यो भेट पारिवारिक भएको दाबी गरेका छन् । भैंसेपाटीमा उनीहरुले पारिवारिक तस्बिरसमेत लिएकाका छन् ।

अध्यक्ष तथा प्रधानमन्त्री ओलीले मंगलबार बिहान सूचना सार्वजनिक गर्दै स्थायी समितिको बैठक स्थगित गरेपछि पार्टीमा विवादले नयाँ मोड लिएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले मंगलबार बिहान दुई अध्यक्षको छलफलमै स्थायी कमिटी बैठक स्थगीत भएको जानकारी गराएका थिए। पार्टी कार्यालयबाट आएको सूचना सार्वजनिक गर्दै थापाले फेसबुकमा लेखे, ‘पार्टीका दुई जना अध्यक्षकाबीच आवश्यक परामर्श र गृहकार्य गरी सचिवालयको बैठकको निर्णय र निर्देशनबमोजिम प्रस्ताव तय गर्न बाँकी रहेको हुनाले, पार्टी स्थायी कमिटीको आज ११: ०० बजे हुने भनिएको बैठक स्थगित गरिएको छ।’

प्रचण्डले बालुवाटारले एकल निर्णय गरेको भन्दै वरिष्ठ नेता झलनाथ खनाल, महासचिव विष्णु पौडेलसहित प्रधानमन्त्री ओलीसँग छलफल गरे । छलफल लगत्तै प्रचण्डको अध्यक्षतामा बालुवाटारमै स्थायी समितिको बैठक बस्यो । प्रधानमन्त्री ओली अनुपस्थित बैठकमा २९ जना स्थायी समिति सदस्य सहभागी भए ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया